काठमाडौं- राष्ट्रिय सभाको बैठकमा नेकपाको संसदीय दलका नेता दिनानाथ शर्माले आफ्नो पार्टी विभाजन भएको बताएका छन्।
शुक्रबार सुरु भएको बैठकमा सम्बोधन गर्दै शर्माले पार्टी विभाजन भएको तर औपचारिक रुपमा विभाजन हुन मात्रै बाँकी रहेको बताए। 'हाम्रो पार्टी विभाजन भएको छ। औपचारिक रुपमा विभाजन नभए पनि विभाजनको संघारमा छ। पार्टी विभाजन भएको र प्रतिनिधि सभा नभएको यस घडीमा हामी राष्ट्रिय सभामा उपस्थित भएका छौं', उनले भने।
उनले पार्टी एकता हुँदा आफू अत्यन्तै खुसी भएको तर पार्टी विभाजनको संघारमा संघारमा आइपुग्दा आफ्नो मुटु चिरिएको र फुटेको अनुभूति भएको बताए। 'विगतको विभाजनमा मैले यति धेरै पीडा महसुस गरेको थिइनँ,' उनले भने।
उनले आफूहरु विभाजित हुन गइरहे पनि अझै पनि एकताबद्ध हुने केही रसायनहरु छन् भने जोड्नका लागि आफूहरुको प्रयत्न हुने बताए। त्यसका लागि वामदेव गौतमलाई शुभकामना दिए।
'पार्टी विभाजन कुनै सिद्धान्त विचार र दर्शनको आधारमा हुन गइरहेको छैन। राजनीतिक कारणले मात्रै विभाजन हुन गइरहेको छ। यो दुखद् कुरा हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।