काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत् हिन्दूराष्ट्र र राजसंस्था पुर्नस्थापित गरिने दाबी गरेका छन्। राजधानीको रत्नपार्कमा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष थापाले सर्वपक्षीय सम्मेलनबाट पुनर्स्थापित नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने चेतावनी पनि दिएका हुन्।
शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेन्डा नभएको बताए।
‘कठिन घडीमा राप्रपाले राजसंस्थाको मुद्दा बोकेर हिँड्यो होला। अब यो आम नेपालीको एजेण्डा बनिसकेको छ,’ थापाले भने, ‘कसैले चाहे पनि नचाहे पनि घरघरमा राजा चाहिने बहस हुन थालेको छ।’
थापाले हिन्दूराष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरवलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित हुने दाबी गरे। सिंहदरबार र शीतल निवासका शासकलाई सार्वजनिक आह्वान गर्दै अध्यक्ष थापाले सडकमा मर्न र मार्न तयार भएर आएकोसमेत दाबी गरे।
‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियता बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं,’ थापाले भने, ‘टाउकोमा कफन बाँधेर आन्दोलनमा आएका छौं।’
प्रतिनिधिसभा भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने टिप्पणी गरे।
राजसंस्था नहुँदा देश अभिभावकविहीन भएकाले विदशीको चलखेल तीव्र रुपमा बढेको थापाले आरोप लगाए।
‘केही दिन अगाडि मात्र नेकपाको घरझगडा मिलाउन उत्तरतिरबाट हवाइजहाज चार्टर गरेर केही मानिसहरु आउनु पर्यो,’ थापाले भने, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौािकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ।’
नेपालमा राजसंस्थाको आवश्यकता जनताले महसुस गरिसकेकाले राजसंस्था पुनर्स्थापना सम्भव भएको बताउँदै उनले अब जनमत संग्रह गर्नुपर्ने धारणा राखे। दलहरु आफै नयाँ राजा भएर देशमा भ्रष्टाचार र गलत काम गरेको आरोप थापाले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।