काठमाडौं–चन्द्रागिरि हिल्सले पुस २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने भएको हो।
कम्पनीले कर्मचारीका लागि ६१ हजार ३६४ कित्ता र सामूहिक लगानीकोष म्युचुअल फण्डका लागि ७६ हजार ७०५ कित्ता सुरक्षित गरेको छ। कम्पनीको प्राथमिक शेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
कम्पनीले छिटोमा पुस २८ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ ९ गतेसम्म बिक्री खुला गर्न सक्ने छ। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्। कम्पनीले यस अगाडि प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर जारी गरेर बाँडफाँड गरिसकेको छ। प्रभावितले अधिकतम ८० कित्तासम्म शेयर प्राप्त गरेका थिए।
प्राथमिक शेयर निष्काशनसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले स्थानीय बासिन्दाका लागि २ प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत शेयर निष्काशन गर्ने भएको हो। प्रभावितले तीन करोड ६ लाख रुपैयाँको शेयर प्राप्त गरिसकेका छन्।
कम्पनीका अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहेका छन्। कम्पनीमा उनको शेयर पुँजी २९ करोड ४३ लाख रुपैयाँ रहेको छ। ढकाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पनि हुन्। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीको सञ्चित नोक्सानी २० करोड ४१ लाख रुपैयाँ थियो। चालु आर्थिक वर्षको सञ्चित मुनाफा पनि ६४ करोड २७ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरिएको छ। तर आगामी आर्थिक वर्ष २०७८–७९ मा भने सञ्चित मुनाफा १४ करोड १७ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०७९–८० सम्ममा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ हुने कम्पनीले सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।