मुम्बई–अधिकांश भारतीयहरु २०२१ को पहिलो दिन कामबाट छुट्टी लिएर सेलिब्रेसन गर्ने मुडमा छन्। तर यी सब छाडेर बलिउड नायिका भूमि पेण्डेकर भने काममा होमिएकी छन्। उनी नयाँ वर्षको छुट्टीलाई बेवास्ता गर्दै फिल्म ‘बधाई दो’ को सुटिङका लागि तम्सिएकी हुन्।
३१ वर्षीया पेण्डेकर सुटिङको सिलसिलामा देहरादून जान लागेकी हुन्। उनको सुटिङ जनवरी १ देखि सुरु हुँदैछ।
दमदार अभिनयले खारिएका राजकुमार रावसँग स्क्रीन सेयर गर्न लागेकी उनले भनिन्, ‘मैले मेरो नयाँ फिल्म बधाई दो जनवरी फस्टदेखि सुरु गर्दैछु र यसका लागि निकै उत्साहित पनि छु ।’
उनले नयाँ काम सुरु गर्न नयाँ वर्षको पहिलो दिनजस्तो राम्रो दिन अरु नभएको बताइन्।
कोभिड–१९ को महामारीपछि आफू पहिलोपल्ट मुम्बईभन्दा बाहिर जान लागेकाले पनि अन्य समयमा भन्दा यसपटक धेरै उत्साह जागेको उनको भनाइ छ। भनिन्, ‘नयाँ वर्षमा नयाँ कामको कुरा त छँदैछ, साथमा नयाँ टिमलाई भेट्न र लामो समयपछिको आउटडोर सुटिङका लागि होमटाउनभन्दा बाहिर जान पाउँदा अझै धेरै खुसी छु।
नयाँ वर्षमा आमा र बहिनीसँग समय बिताउन नपाए पनि उनीहरुको धेरै माया लिएर सुटिङमा जान लागेको उनको भनाइ छ। पेण्डेकरका लागि देहरादून निकै महत्वपूर्ण ठाउँ हो। उनले आफ्नो डेब्यु फिल्म ‘दम लगाके हैंसा’ को सुटिङ यही गरेकी थिईन्।
‘बधाइ दो’अर्को चर्चित फिल्म ‘बधाइ हो’ को दोस्रो पाटो हो। ‘बधाइ हो’ मा आयुष्मान खुराना र नैना गुप्ताको मुख्य भूमिका थियो।
हर्षवद्र्धन कुलकर्णीको निर्देशनमा बन्न लागेको ‘बधाई दो’ मा राव प्रहरीको भूमिकामा छन् भने पेण्डेकरले पीटी शिक्षिकाको भूमिका निर्वाह गर्दैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।