काठमाडौं-समायोजन भएर सस्तिएको कम्पनीको सेयर किन्ने होडबाजीले नेप्से सूचक सर्वाधिक उचाइमा पुगेको छ। बिहीबार नेप्सेसूचक २५ दशमलब ११ अंकले सुधार भएर २०८७.२७ अंक कायम भएको छ। यसअगाडि नेप्से सूचक सबैभन्दा धेरै मंसिर ३० गते २०६७ अंक कायम भएको थियो।
लगानीकर्ताहरुबीचमा बुक क्लोज अगाडि भन्दा बुक क्लोजपछि बढी आकर्षण देखिएको छ। अधिकांश वाणिज्य बैंकको सेयर मूल्य समायोजन भइसकेको छ। निर्जीवन बिमा कम्पनीको सूचकबाहेक सम्पूर्ण सूचक तथा उपसूचकमा सुधार भएको छ। वाणिज्य बैंकको सूचक ३० अंकले सुधार भएको छ। सूचकमा उल्लेख्य सुधार हुँदा पनि ५ अर्ब ७० करोड रुपैयाँको मात्रै कारोबार भएको छ।
राजनीतिक घटनाक्रमका कारण पछिल्लो समय दोस्रो बजार सुधार भइरहेको छ। बजार सुधार हुने क्रममा लगानीकर्ताले सस्ता कम्पनी छानी-छानी शेयर किन्न खोज्दा यस साता नेप्से सूचकमा अधिक सुधार भइरहेको हो। गएका दिनमा थोरै शेयर पुँजी भएका कम्पनीको मूल्य बढाएर सूचक सुधार हुँदै आएकोमा केही सातादेखि वाणिज्य बैंकको सेयरमा विस्तारै सुधार भइरहेको छ। दोस्रो बजारमा सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंकको सेयर मूल्य बढ्दा नेप्से सूचक नै सुधार भइरहेको छ।
बैंकहरुले निक्षेपको व्याजसँगै कर्जाको व्याजदर पनि घटाइरहेका छन्। बैंकमा निक्षेप जम्मा गरेर बस्नुभन्दा लगानीकर्ताले दोस्रो बजारमा लगानी गरेर उचिल लाभ लिन खोजिरहेका छन्। अहिलेको समय बैंकमा पैसा जम्मा गर्नु भन्दा शेयरमा लगानी गर्ने लगानीकर्ता हाबी भएका छन्।
दोस्रो बजारलाई बैंकको व्याजदरले सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। अझै केही समय व्याजदर नबढ्ने बैंकहरुले बताइरहेका छन्। अझै ६ महिनाभन्दा बढी व्याजदर नबढ्ने अवस्था रहिरहने विश्लेषणसँगै लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।