काठमाडौं–नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एक वर्षको पारिश्रमिक, भत्ता तथा सुविधाबापत एक करोड ४१ लाख रुपैयाँ प्राप्त गरेका छन्। उनले गत वर्ष आर्थिक वर्ष २०७६/७७ मा तलब, भत्ता सुविधाबाहेक वार्षिक बिरामी बिदा, बोनस, उपदान, सञ्चयकोष तथा औषधि उपचारको सुविधा पनि प्राप्त गरेका छन्। ढुंगानाले अघिल्लो आर्थिक वर्षमा पनि पारिश्रमिक, भत्ता तथा सुविधाबापत एक करोड ४१ लाख रुपैयाँ नै बुझेका थिए।
गत आर्थिक वर्षमा सञ्चालकहरुले बैठक भत्ताबापत १९ लाख ९७ हजार ५०० रुपैयाँ बुझेका छन्। त्यस्तै मूल्य व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले ४ करोड ७० लाख रुपैयाँ तलब प्राप्त गरेका छन् भने भत्ता बापत ९ करोड १५ लाख रुपैयाँ बुझेका छन्। गत आर्थिक वर्षमा बैंकको कुल कर्मचारी खर्च मात्रै एक अर्ब २ करोड रुपैयाँको भएको छ।
बैंकको नाफामा गिरावट हुँदा कर्मचारीले पाउने बोनस रकम घटेको छ। गत वर्ष कर्मचारीहरुले २० करोड रुपैयाँ बोनस प्राप्त गरेका छन्। अघिल्लो वर्ष भने बैंकका कर्मचारीहरुले २५ करोड ३८ लाख रुपैयाँ प्राप्त गरेका थिए। बैंकको मुनाफा २१ प्रतिशतले खुम्चिँदा कर्मचारीको बोनस रकम पनि घटेको हो।
गत आर्थिक वर्षमा एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको बैंकले अघिल्लो आर्थिक वर्षमा बैंकको खुद मुनाफा एक अर्ब ५८ करोड रुपैयाँ थियो। बैंकले पुस २६ गते २६ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा बैंक सञ्चालक समितिले २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।