काठमाडौं–नेपाल स्टक एक्सचेन्जले आफ्नो डाटा सेन्टको क्षमता बढाउने भएको छ। यसका लागि आवश्यक पर्ने सामान तथा इन्स्टलेसनका लागि बोलकबोल आव्हान पनि गरेको छ।
नेप्सेले १८ लाख रुपैयाँसम्म बोलकबोल गर्न सकिने जनाएको छ। बोलकबोल गर्नेेले ५ हजार रुपैयाँ शुल्क तिरेर आफ्नो प्रस्ताव पेश गर्न सक्ने छन्। प्रस्ताव पेश गर्न माघ १६ सम्मको समय दिइएको छ।
डाटा सेन्टरमा दोस्रो बजारमा हुने कारोबारको तथ्याङ्क सुरक्षित राखिन्छ। तर अत्याधुनिक डाटा सेन्टर बनाउने वर्षौंदेखिको योजनालाई भने नेप्सेले थन्काएर राखेको छ। नयाँ अत्याधुनिक डाटा सेन्टरको काम गर्न नसक्दा विभिन्न समयमा समस्या देखिने गरेको छ। दोस्रो बजारमा हुने हरेक दिनको तथ्याङ्क स्टोर गर्नका लागि हरेक वर्ष क्षमता बढाउने पर्ने हुन्छ।
एउटा अत्याधुनिक डाटा सेन्टर निर्माण गर्न कम्तिमा पनि १८–२० करोडको बजेट आवश्यक पर्ने जनाइन्छ । नेप्सेले सञ्चालक समितिमा यस्तो प्रस्ताव धेरै पटक लगिसके पनि अहिलेसम्म पारित हुन सकेको छैन। यस अगाडिको प्रस्तावमा समितिले सबैभन्दा पहिला जग्गा किन्ने भन्ने प्रस्ताव गरेर टुंग्याइदियो। तर त्यो काम अगाडि बढ्न सकेन।
नेप्से अगाडिको जग्गामा भवन बनाएर पनि अत्याधुनिक डाटा सेन्टर तयार पार्न सक्छ। तर सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतबीचको संशयका कारण यो योजना अगाडि बढ्न सकेको छैन। यस कामका लागि सञ्चालक समिति र प्रमुख व्यवस्थापक दुवै पक्षको सहमति हुनु पर्छ। सरकारी स्वामित्वको नेप्सेमा सरकारी व्यक्ति प्रतिनिधि हुने भएकाले जुनसुकै योजनामा पनि भ्रष्टाचार देख्ने प्रवृत्तिले ठूला योजना अघि बढ्न नसकको विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।