काठमाडौं–आज बिहीबार १२ कम्पनीको सेयर किन्दा उनीहरुले घोषणा गरेको लाभांश प्राप्त गर्न सकिने छ। दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १२ वटा कम्पनीले भोलि शुक्रबार बुक क्लोज गर्दै छन्। बुक क्लोजको अघिल्लो दिनसम्म सेयर किन्नेले घोषणा गरेको लाभांश पाउने प्रावधान रहेको छ।
बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट २५ प्रतिशत लाभांश दिँदै छ। सेयरधनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर प्राप्त गर्न सक्ने छन्। कम्पनीको लाभांश आजसम्म शेयर किन्नेले पाउनुका साथै साधारण सभामा पनि भाग लिन सक्ने छन्। कम्पनीले पुस २४ गते साधारणसभा गर्दै छ। बुधबार कम्पनीको शेयर मूल्य ४४७ रुपैयाँ थियो।
त्यस्तै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि पुस २४ गते १२ औं वार्षिक साधारणसभा गर्दै छ। कम्पनीले साधारणसभामा ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। बैंकले भोलि शुक्रवार बुक क्लोज गर्दैछ। आजसम्म शेयर किन्ने उक्त लाभांश प्राप्त गर्न सक्ने छन्।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारणसभा बोलाएको छ। साधारणसभामा २१.१६ प्रतिशत लाभांश को प्रस्ताव लैजाँदै छ। जसमा १५ प्रतिशत बोनस शेयर र ८.१३ प्रतिशत नगद लाभांश रहेको छ। संस्थाको उक्त बोनस शेयर पनि आजसम्म शेयर किन्नेले मात्रै प्राप्त गर्ने छन्।
मेरो माइक्रोफाइनान्सले पुस २८ गते साधारणसभा गर्दैछ। संस्थाले १६.९३ प्रतिशत बोनस शेयर दिँदै छ। त्यस्तै हिमालयन डिष्ट्रिलरीले पनि पुस २९ गते साधारणसभा गर्दै छ। साधारणसभामा ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदै छ। कम्पनीको उक्त लाभांश आजसम्म कायम सेयरधनीले मात्रै प्राप्त गर्नेछन्।
पोखरा फाइनान्सले पनि ५ प्रतिशत बोनस सेयर दिँदै छ। फाइनान्सको उक्त बोनस शेयर प्राप्त गर्न आज बिहीबारसम्म सेयर किनिसक्नु पर्छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्राप्त गर्न पनि आजसम्म शेयर किन्नु पर्ने छ। कम्पनीले पुस २७ गतेको वार्षिक साधारणसभामा ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ।
गुडविल फाइनान्सले पुस २९ गतेको वार्षिक साधारणसभामा ८.४ प्रतिशत बोनस शेयर र ३.६ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदै छ। छ्याङ्दी हाइड्रोपावरले पुस २७ गते बोलाएको वार्षिक साभारणसभामा ५ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ। साथै ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ। लक्ष्मी बैंकले पुस २८ गते डाकेको वार्षिक साधारणसमामा ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ।
विजय लघुवित्त वित्तिय संस्थाले पुस २९ गते बोलाएको ८ औं वार्षिक साधारणसभामा १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ। आइसिएफसी फाइनान्सले पुस २९ गते डाकेको वार्षिक साधारणभामा १०.५ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदै छ। १२ वटै कम्पनीहरुले घोषणा गरेको लाभांश आजसम्म सेयर किन्नले प्राप्त गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।