काठमाडौं - बुक क्लोजपछि सस्तिएको मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ। एक साताको अवधिमा दुई दर्जनभन्दा धेरै कम्पनीले बुक क्लोजपछि मूल्य समायोजन गरेका छन्। लाभांश घोषणापछि बुक क्लोजभन्दा अघिल्लो दिनसम्मको मूल्य तथा घोषित लाभांशका आधारमा मूल्य समायोजन हुन्छ।
बढ्दो क्रममा रहेको दोस्रो बजारमा लगानीकर्ताले बुक क्लोजपछि समायोजन हुने मूल्य कुरेर बसिरहेका थिए। नबिल बैंकको बजार मूल्य बुक क्लोज अगाडि १३८६ रुपैयाँ थियो। बुक क्लोजपछि बैंकको मूल्य १०३८ रुपैयाँमा समायोजन भएको थियो। मंगलबार समायोजनपछि बढ्ने क्रममा ६३ रुपैयाँले बढेर ११०१ रुपैयाँ पुगेको छ।
त्यस्तै नेपाल एसबिआई बैंकको मूल्य ४०८ रुपैयाँबाट ३८५ रुपैयाँमा समायोजन भयो। समायोजनपछि २ रुपैयाँले बढेर ३८७ रुपैयाँ पुगेको छ। कृषि विकास बैंकको ४८८ रुपैयाँबाट समायोजन हुने क्रममा ४२४ रुपैयाँ कायम भएको थियो। तर कृषि विकास बैंकको भने २ रुपैयाँले घटेको छ।
बुक क्लोजपछि ग्लोबल आइएमई बैंकको पनि एक रुपैयाँले मूल्य घटेको छ। बैंकको सेयर मूल्य ३५० रुपैयाँबाट ३०७ रुपैयाँमा समायोजन भएको थियो। मूल्य समायोजन पछि छिमेक लघुवित्तको ३९ रुपैयाँले बढेको छ। मञ्जुश्री फाइनान्सको शेयर मूल्य १६ रुपैयाँले सुधार भएको छ।
सस्तिएको मूल्यमा शेयर खरिदकर्ताको चाप बढ्दा नेप्से सूचकमै सुधार आएको छ। मंगलबार नेप्से सूचक ४९.१७ अंकले सुधार भएको छ। नेप्से सूचक २.४४ प्रतिशतले सुधार भएर २०६२.०६ अंकमा रोकिएको छ। सूचकमा उल्लेख्य सुधार भए पनि कारोबार रकम भने चार अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। सूचकमा सुधार आए सँगै बजार पुँजीकरण २७ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। बजार पुँजीकरणका हिसावले मंगलबारको बजार पुँजीकरण दोस्रो ठुलो हो। यस अगाडि पुस ८ गते सबैभन्दा धेरै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।