काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट कर्जा लिएका फहमिदा बानो जसगढ यतिबेला अदालतको कठघरामा उभिनुपरेको छ। सरकारी कागजपत्र कीर्ते गरी बैंकबाट ऋण लिएको आरोपमा उनी अदालतसम्म पुग्नु परेको हो। उनले बैंकका कर्मचारीसँगको मिलेमतोमा ऋण लिँदा आवश्यक पर्ने कागजपत्र नै नक्कली बनाएर पेस गरेका थिए।
धितो राखिएको घरजग्गाको कागजपत्र यथार्थ भएपनि कर्जा लिनका लागि आवश्यक अन्य कागजात कीर्ते गरी पेस गरेका थिए। उनको यस कार्यमा बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीको समेत संलग्नता भएको पाइएको छ। त्यस्तै यस कार्यमा सूचीकृत धितो मूल्यांकनकर्ता कर्ण बहादुर केकेसमेतको संलग्नता देखिएको छ।
बैंकले जसगढसँग कर्जा असुल उपर गरिसकेको भएपनि उनले सरकारी कागजपत्र कीर्ते गरेको पाइएपछि अनुसन्धानका लागि पठाइएको थियो।अनुसन्धानका क्रममा बैंकका कर्मचारीको समेत मिलेमतो देखिएपछि उनीहरु पनि कारबाहीका भागीदार भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानपछि ८ जनाको संलग्नता रहेको पाइएको छ। आयोगले मंगलबार तत्कालीन प्रबन्धक ललित बहादुर शाही तथा मूल्याङ्कर्तासहित ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
सरकारी कागजपत्र कीर्ते गर्ने गलत लिखत र प्रतिवेदन तयारी गरी सरकारी सम्पत्तिको हानीनोक्सानी गराई भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै शाहीविरुद्ध १२ करोड ५० लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर गरेको छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी गरिएको छ।
बैंकका सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक (नगद) प्रिन्सी गुप्ता, रिजवान अहमद जसगढ, फहमिदा बानो जसगढ र सूचीकृत धितो मूल्यांकनकर्ता कर्ण बहादुर के.केविरुद्ध पनि १२ करोड ५० लाख रुपैयाँको बिगोसहित आरोपत्र दायर गरिएको छ। सकिना जसगढ विरुद्ध भने ७५ लाख रुपैयाँको बिगोसहित मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।