काठमाडौं- सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ। कम्पनीले माघ ६ गते आह्वान गरेको दोस्रो वार्षिक साधारणसभामा बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको हो। कम्पनीले सर्वसाधारणमा लागि ६० लाख कित्ता शेयर बिक्री गर्ने योजना बनाएको छ।
कम्पनीले प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुर्याउने छ। सर्वसाधारणमा १५ प्रतिशत शेयर जारी गर्ने भएको हो। कम्पनीले सर्वसाधारणबाट ६० करोड रुपैयाँको पुँजी संकलन गर्नेछ। संस्थापक समूहतर्फ हाल तीन अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको शेयर हाल नेपाल स्टक एक्सचेन्जको अक्सन बजारमार्फत् पनि कारोबार हुँदै आएको छ।
कम्पनीले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्नका लागि कम्तिमा पनि तीन आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन संस्थागत लगानीकर्ताहरुलाई देखाउनु पर्छ। साथै न्युनतम तीन आर्थिक वर्षदेखि लगातार नाफामा देखिनु पर्छ। कम्पनी विगत ७ वर्षदेखि नाफामा रहेको कम्पनीका संस्थापक विष्णु प्रसाद न्यौपानेले जानकारी दिए।
कम्पनीले साधारणसभाबाट आइपिओ निष्काशनको अनुमति पाउने वित्तीकै नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरिसकेको छ। यदि धितोपत्र बोर्डबाट छिट्टै अनुमति पाएका खण्डमा फागुनसम्ममा सर्वसाधारणका शेयर जारी गरिसक्ने न्यौपानेले जानकारी दिए।
कम्पनीले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न अहिलेसम्म कुनै पनि कम्पनीले प्रस्ताव गरेका छैनन्। बजारमा आफ्नो छुट्टै ब्राण्ड भ्यालु बनाएका कम्पनीहरुले आधार मूल्यमा थप प्रिमियम सहित आइपिओ निष्काशन गर्न चाहेमा नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधि कार्यान्वयनमा ल्याइसकेको छ।
यसअघि शिवम् सिमेन्टले प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्दा प्रिमियम रकममा विवाद भएको थियो। प्रिमियम रकम धेरै भएको भन्दै लगानीकर्ताले शेयर नकिन्दा कम्पनीले समस्या झेल्नुपरेको थियो। बोर्डले उत्पादन तथा प्रशोधन तथा बजारमा आफ्नो छुट्टै ब्राण्ड भ्यालु बनाएका कम्पनीहरुलाई प्राथमिक शेयर निष्काशनमा प्रोत्साहन गर्न यो विधि कार्यान्वयनमा ल्याएको थियो।
बुक विल्डिङ विधिमार्फत् शेयर निष्काशन गर्दा कम्पनीले सुरुमा संस्थागत लगानीकर्ताहरु सँग आशय मूल्यका लागि सार्वजनिक रुपमा आह्वान गर्दछ। कम्पनीको वित्तीय विवरण, नेटवर्थ तथा भोलिका दिनमा कम्पनीले दोस्रो बजारमा कायम गर्ने मूल्यलाई मूल्याङ्कन गर्दै प्रिमियम रकमका लागि प्रस्ताव पेश गर्छन्।
संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्यबाट कटअफ मूल्य निर्धारण गरिन्छ। उक्त कट अफ मूल्यमा १० प्रतिशत डिस्काउन्ट दिएर संस्थागत लगानीकर्ताहरुले सर्वसाधारणका लागि बिक्री गर्न सक्नेछन्। यो विधिबाट आह्वान गरिएको आइपिओमा सर्वसाधारणले न्युनतम ५० कित्ताको लागि माग गर्नुपर्नेछ। साथै कम्पनीले बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ता नै बाँडफाँड गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।