सांकेतिक तस्बिर
काठमाडौं- संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। चैनपुर-४ मैदाने भन्ने ठाउँमा आइतबार विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो।
विप्ल्वका कार्यकर्ता लुकेर बसेको भन्ने सूचनाका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीलाई लक्षित गर्दै विप्लव कार्यकर्ताले गोली प्रहार गरेको संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए। प्रहरीले पनि जवाफी फायर गरेको थियो।
विप्लव कार्यकर्ताले ६ राउन्ड गोली प्रहार गरेका थिए भने प्रहरी दर्जनभन्दा बढी चलाएको थियो। प्रहरीलाई देखेपछि गोली चलाउँदै फरार भएका विप्लव कार्यकर्ताले केही विस्फोटक पदार्थ भने छाडेर भागेका थिए। उक्त विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।
दोहोरो गोली हानाहान भएपनि दुवैतर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा विप्लवका जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितको टोली रहेको प्रहरीले जनाएको छ। अहिले सो क्षेत्रमा व्यापक प्रहरी प्ररिचालन गरिएको मल्लले जानकारी दिए।
यसअघि पनि प्रहरीलाई नै लक्षित गरेर राईको टोलीले एम्बुस थापेको थियो। एम्बुस विस्फोट भए पनि त्यसबेला पनि कुनै मानवीय क्षति भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।