काठमाडौं- बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले चार वर्षे कार्यकाल पूरा गरेर यही पुस १४ गतेदेखि बिदामा बस्दै छन्। नेपाल सरकारले नियुक्ति दिएको आधारमा उनको पुस २३ गते कार्यकाल सकिँदैछ।
तर सरकारले अहिलेसम्म पनि अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएको छैन। बिमा ऐन २०४९ को दफा ६ मा 'बिमा व्यवसायमा विशेष ज्ञान भएको कुनै व्यक्तिलाई नेपाल सरकारले अध्यक्षको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ' भनिएको छ।
नेपाल सरकारले अध्यक्षको नियुक्त आफूले चाहेको व्यक्तिलाई गर्न पाउने कानुनी व्यवस्था छ। वर्तमान अध्यक्ष चापागाईलाई सरकारले अहिलेसम्म पुनः नियुक्तका लागि कुनै संकेत नदिएकाले सरकारले आफूनिकट व्यक्तिलाई नियुक्त गर्न सक्ने छ।
बिमा समितिको अध्यक्षको दौडमा नेपाल राष्ट्र बैंकको गभर्नरको दौडबाट बाहिरिएका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले दाबी गरिरहेका छन्। उनीसँगै नेपाल पुनर्बिमा कम्पनीका पूर्वअध्यक्ष महेश गुरागाईं पनि दौडमा छन्। उनी नेपाल चार्टर्ड एकान्टेन्टस् संस्थाका अध्यक्ष पनि हुन्।
नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष टंक पनेरुलगायतले लबिङ गरिरहेका छन्। नेकपाको फुटसँगै प्रधामन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई मनाउन सक्ने तथा उनीहरू निकट व्यक्तिहरू नै बिमा समितिको अध्यक्ष हुने पक्का छ।
अहिलेका अध्यक्ष चपागाईंलाई तत्कालीन् अर्थमन्त्री कृष्णबहादुर महराले नियुक्त गरेका हुन्। चापागाईंसँगैको दौडमा रहेका रविन्द्र घिमिरे भने अहिलेको दौडमा छैनन्। उनी पूर्वमाओवादी निकट भएर अध्यक्षका लागि दौडमा थिए। १० वर्षदेखि लाइसेन्सका लागि निवेदन दिएर बसेका कम्पनीले आफ्नो अनुकुलको व्यक्ति छनोट गर्ने क्रममा चापागाईं नियुक्त भएका थिए।
चापागाईं दोस्रो कार्यकालका लागि खासै तयारी अवस्थामा छैनन्। नेपाल लाइभसँगको अन्तर्वार्ताका क्रममा चापागाईंले यदि सरकारले दोहोर्याउन चाहेको खण्डमा आफू तयार रहेको तर दोस्रो कार्यकालका लागि धेरै ठूलो मिहिनेत नगर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।