काठमाडौं- पुस १० गते बुक क्लोज गरेका तीन वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ। एभरेस्ट, प्रभु र नेपाल बंगलादेश बैंकले बोनस सेयर दिने भएकाले मूल्य समायोजन भएको हो।
मूल्य समायोजन हुने क्रममा नेपाल बंगलादेश बैंकको सेयर मूल्य १५ रुपैयाँले घटेको छ। यससँगै बैंकको सेयर मूल्य २५० रुपैयाँमा झरेको छ। बैंकले ६ प्रतिशत बोनस सेयर दिने भएको छ।
त्यस्तै प्रभु बैंकको पनि बुक क्लोजपछि मूल्य समायोजन हुने क्रममा ३४ रुपैयाँले घटेको छ। मूल्य समायोजन हुनुभन्दा अगाडि बैंकको सेयर मूल्य ३७५ रुपैयाँ थियो। समायोजनपछि ३४१ रुपैयाँमा झरेको हो। बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ।
मूल्य समायोजन हुने क्रममा एभरेस्ट बैंकको सेयर मूल्य पनि ३४ रुपैयाँले घटेको छ। बुक क्लोज अगाडि बैंकको सेयर मूल्य ७१५ रुपैयाँ थियो।
बुक क्लोजपछि मूल्य समायोजन हुने क्रममा ६८१ रुपैयाँमा झरेको छ। बैंकले ५ प्रतिशत बोनस सेयर दिने भएको छ। नेपाल बंगलादेश र प्रभु बैंकले मंसिर २६ गते र एभरेष्टले पुस २७ गते वार्षिक साधारणसभा आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।