बिबिसी- सवारी साधन चलाउन महिलाहरुलाई प्रतिबन्ध लगाइएको विश्वको एकमात्र देश साउदी अरबको त्यो इतिहास अब मेटिने भएको छ । अर्थात् महिलाहरुले गाडी चलाउने अनुमति पाउने भएका छन्।
साउदी शाह सलमानले एक आदेश जारी गरेसँगै महिलाहरुलाई पहिलो चोटि ड्राइभिङको अनुमति दिन लागिएको त्यहाँको सरकारी मिडियाले जनाएको छ।
साउदी प्रेस एजेन्सीका अनुसार, साउदी मन्त्रालयहरुलाई यसबारेमा ३० दिनभित्र रिपोर्ट तयार पार्न भनिएको छ । महिलाहरुलाई २०१८ को जूनदेखि सवारी साधन चलाउन खुला गरिने जनाइएको छ।
महिलाहरुलाई गाडी चलाउने अधिकारी दिलाउन वर्षौंसम्म अभियान चलाइएको थियो । प्रतिबन्ध तोड्दै सवारीसाधन चलाएको अभियोगमा कैयौं महिलालाई सजाय समेत दिइएको थियो।
प्रतिबन्ध फुकुवा गरिएसँगै ट्राफिक नियमका धेरै प्रावधानहरु पनि लागू गरिने साउदी प्रेस एजेन्सीले जनाएको छ । महिला र पुरुषका लागि एउटै खालको ड्राइभिङ लाइसेन्स जारी गर्ने तयारी गरिएको पनि जनाइएको छ।
साउदी प्रेस एजेन्सीका अनुसार, वरिष्ठ धार्मिक विद्वानहरुको परिषदका सदस्यहरुले यो निर्णयको बहुमतले समर्थन गरेका छन्।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले साउदी अरबको यो निर्णयको स्वागत गर्दै यसलाई सही दिशामा उठाइएको कदम भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।