काठमाडौं– नेपाल ओलम्पिक कमिटीको आयोजनामा टोकियो ओलम्पिकमा सहभागी हुन छात्रवृत्ति प्राप्त गरेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार ‘न्युट्रिसन क्लास’ सञ्चालन गरिएको छ।
भारोत्तोलन प्रशिक्षक संजय महर्जनले खेलाडी र प्रशिक्षकलाई पोषणसम्बन्धी विविध जानकारी पाए। यसअघि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीको प्रशिक्षण र अभ्यासमा पोषणबारे आवश्यक टिप्सहरु दिएका थिए।
यो कार्यक्रममा १२ खेलाडी र तीन प्रशिक्षकको सहभागिता थियो। सन् २०२१ को जुलाईमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने प्रक्रियामा सात खेलका १२ खेलाडीले ओलम्पिक छात्रवृति प्राप्त गरेका छन्।
ओलम्पिक छात्रवृति प्राप्त गर्ने खेलाडीमा करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, सुटिङका सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सञ्जु चौधरी, पौडीका गौरिका सिंह र एलेक्स शाह, तेक्वान्दोका वीरबहादुर महरा र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन्। त्यस्तै कार्यक्रममा छात्रवृत्ति नपाएका एथलेटिक्सका गोपीचन्द्र पार्की पनि सहभागी भएका थिए।
अहिलेसम्म नेपालको तर्फबाट पौडीका दुई गौरिका र एलेक्स तथा एथलेटिक्सका पार्की गरेर कुल तीन खेलाडीले ओलम्पिकमा सहभागिता जनाउने निश्चित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।