चितवन- धेरैले रोजगारी गुमाए। दैनिक ज्यालामा चलेको परिवार समस्यामा पर्यो। कति भोकभोकै भए। कोरोनाको महामारीमा देशैभर मजदुरको समस्या जटिल रह्यो। त्यसबाट बाहिर निस्कन अहिलेसम्म मुस्किल भइरहेको छ।
तर, चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काम गर्ने कामदारका लागि भने महासंकटमा पनि संकट आएन। नेपाली क्रिकेटप्रेमीको सपनाको रंगशाला यी कामदारका लागि पनि महामारी टार्ने माध्यम बनिरह्यो।
लमजुङकी मनकुमारी गुरुङ भरतपुर महानगरपालिकामा कोठा डेरा गरी बस्छिन्। छोराछोरीको भविष्य उज्ज्वल बनाउन लमजुङदेखि चितवन झरेको धेरै भएको छैन। जीवनयापन ज्यालादारी कृषिबाट चलिरहेको थियो। मनकुमारीका श्रीमान् अहिले पनि कृषि कर्ममै छन्। मनकुमारी रंगशालाको काममा छिन्। जसले अप्ठ्यारो पर्दा उनीहरुलाई भरथेग भइरह्यो।
गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण जनजीवन सामान्य रहेन। कठिन समयमा नै सरकारले पनि आँखा चिम्लिदियो। धेरै भोकभोकै रहे। कतिले सडकमै दिन बिताए। यस्तोमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काम गर्नेहरुले भने आर्थिक संकटको भार खेप्नु परेन। करिब एक महिना काम रोकिए पनि बैशाख २० बाट काम पुनः सुरु भयो। अहिले पनि दैनिक २ सय ५३ जना कामदार निर्माणमा जुटिरहेका छन्।
तीनै कामदारमध्येकी हुन्, मनकुमारी। रंगशाला निर्माण सुरु गरिएको दिनदेखि नै काममा खटिएकी मनकुमारी यसैको पारिश्रमिकले कोठा भाडा तिर्न र छोराछोरी पढाउन पुगिरहेको बताउँछिन्।
‘पारिश्रमिक त बराबरी नै हो। कृषिको काममा पनि दिनको ५ सय रुपैयाँ नै दिन्थ्यो यहाँ पनि त्यति नै छ। यस्तो लकडाउन हुँदा पनि काम रोकिएन। लकडाउन हुँदा काम नभएको भए बेहाल नै हुने थियो। यहाँकै पैसाले भाडा तिर्नेदेखि बच्चाहरु पढाउन पुग्छ’, उनी भन्छिन्।
यो भन्दा अघि उनी कृषि क्षेत्रमा ज्यालामा काम गर्न जान्थिन्। त्यसमा एक ठाउँमा मात्रै नभइ विभिन्न स्थानमा जानुपर्ने हुन्थ्यो। तर मनकुमारीलाई साइकल चलाउन नआउने भएपछि अलिक टाढाको काम कष्टकर नै लाग्थ्यो। त्यसैले उनी नजिकै काम पाउने भएपछि रंगशालामा आइन्।
हँ! बन्छ र?
सरस्वती शर्मा रंगशालामा काम गर्न भनेर आएको धेरै समय भएको छैन। तिहारपछि मात्रै उनी रंगशालामा दैनिक काम गर्न आएकी हुन्। भरतपुर महानरपालिकामै हुर्किएकी सरस्वतीको कल्पनामा पनि यस्तो रंगशाला बनाउने पनि काम हुन्छ भन्ने कहिल्यै लागेन।
धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा जनस्तरबाट रंगशाला निर्माण गर्ने भन्ने कुरा धेरै भरतपुरवासीले सुरुमा पत्याएका पनि थिएनन्। सरस्वतीलाई पनि यस्तै लागेको थियो। स्याल कराउने जंगलमा क्रिकेट रंगशाला! त्यो पनि दुई वर्षमा। हुन पनि वर्षौंदेखि सरकारले निर्माण गर्ने भनेर थालेको अन्तर्राष्ट्रिय रंगशाला अलपत्र परिरहेको सबैले देखिरहेकै छन्।
सरस्वती भन्छिन्, ‘चितवनमा यस्तो रंगशाला बन्छ भनेर सोचेका पनि थिएनौँ। हामी सानो हुँदा यहाँ विश्वविद्यालय बन्छ भन्ने सुन्थ्यौँ, यो त गौचरण थियो। पूरै झाडी। यस्तो हुन्छ जस्तो कहिल्यै पनि लागेन।’
गौतम बुद्ध रंगशाला निर्माणले धेरैलाई रोजगारी दिएको सरस्वतीको बुझाइ छ। ‘यो रंगशालाले बेरोजगारका लागि रोजगारी सिर्जना गरेको छ। अप्ठ्यारो समयमा गरिब दुःखीहरुको चुलो बलेको छ’, मैदानतर्फ हेर्दै सरस्वतीले भनिन्।
मनकुमारीसँगै लमजुङका मनमाया र चेकमाया गुरुङ पनि सुरुको दिनदेखि नै रंगशाला निर्माणमा खटिरहेका छन्। कोठैमा बसेको भन्दा काम गरे पैसा आउँछ भन्ने हेतुले मनमाया र चेकमाया पनि श्रम गर्न जुटिरहेका छन्।
पैसा पनि पाइने रंगशाला बनाउन योगदान पनि पुग्ने। यही बुझेका छन्, सबै कामदारले। मेरो रंगशाला, राष्ट्रको रंगशाला भन्ने भाव जागेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल भन्छन्, ‘स्टाफहरु यतिसम्मको लगनशील छन् कि बरु पैसा चाहिँदैन तर काम रोकिनु भएन भन्नु हुन्छ। सबैलाई मेरो रंगशाला हो, जसरी पनि बनाउनुपर्छ भन्ने भएको छ।’
नमुना क्रिकेट खेल मैदानको पूरा काम सम्पन्न भएको छ। यही मैदानमा बागमती प्रदेश क्रिकेट संघले ‘गौतम बुद्ध कप’ टि ट्वान्टी प्रतियोगिता समेत आयोजना गर्याे। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम ८५ प्रतिशत सम्पन्न भएको छ भने करिब २२ लाख लिटर पानी आट्ने ‘ड्रेन’ शतप्रतिशत सम्पन्न तथा स्ट्यान्ड ‘ए’ र स्ट्यान्ड ‘बी’ गरी करिब ३० हजार दर्शक क्षमताको प्याराफिटको जगको काम सम्पन्न भइसकेको छ। अहिले प्याराफिट उठाउने काम जारी छ।
कामहरु धेरै गरिरहे पनि रंगशाला तथा मैदानको काम कहिल्यै नगरेको तर यहाँ जति रमाइलो अन्त नभएको कामदारको तर्क छ। मनमायालाई पनि यस्तै लाग्छ। भन्छिन्, ‘काम गर्न थालेको एक वर्षभन्दा बढि भयो। घरमा केही काम पनि थिएन। त्यही भएर म पनि काम गर्नको लागि यहाँ आएँ। खुसी लाग्छ। आफ्नै रंगशाला, आफ्नै देशको रंगशाला भनेर काम गरिरहेको छु।’
मनमायाले यति भनिनसक्दा चेकमाया गुरुङले थपिन्, ‘योभन्दा पहिले मैदानमा काम गरेको थिइनँ। यहाँ सरहरुले जे भन्नु हुन्छ त्यही काम गर्ने हो। काम पनि सजिलो। अहिले त खेल पनि हेर्न पाइने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।