काठमाडौं– एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड जोडिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेटवर्क लिमिटेडसँग प्रायोजनको लागि सम्झौता गरेको हो।
मञ्चका महासचिव प्रज्वल ओली र डिस मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे। मुख्य सह–प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरी ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ। सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ।
खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करण पुस २८ गते आयोजना हुदैछ। अवार्डअन्तर्गत गत हप्तामात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। यो विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ छन्।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।