काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ।
स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो। मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको हुनेछ। सम्झौताअनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन्। यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ।
कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसी भने, ‘खेलाडी र युवाहरुको प्रोत्साहनका लागि यो अवार्डले महत्वपूर्ण भूमिका खेलेको छ। यो सराहनीय कार्य हो। यसमा हामी पनि कार्यक्रममा जोडिन पाउँदा आभारी छौं। नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ।’
नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव ओलीले सम्पूर्ण नेपाली खेलकुद र खेलाडीका लागि टर्किस एयरको यो सहकार्य प्रोत्साहनजनक रहेको बताए। उनले भने, ‘यो सहकार्यलाई टर्किसले निरन्तरता दिनेछ भन्ने हाम्रो विश्वास छ।’
पल्सर स्पोर्ट्स अवार्ड आउँदो पुस २८ गते हुनेछ। १७ औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन समेत यसअघि नै सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी कप्तान अरुणा शाही, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन्।
विगतका वर्षमा जस्तै यसपटक वर्ष उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस र उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्ड विजेताले बजाज पल्सर मोटरसाइकल पाउने छन्। अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।