काठमाडौं– सरकारले राष्ट्रिय खेलाडी प्रतिभा पुरस्कारबाट विभिन्न खेलका सात खेलाडीलाई पुरस्कृत गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबार विभिन्न खेलका उत्कृष्ट खेलाडीहरु छनोट गरी सम्मानसहित पुरस्कृत गरेको हो। पुरस्कृत हुनेमा तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ, गल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, शारीरिक सुगठनका समिर श्रेष्ठ र भारोत्तलनका विकास थापा छन्।
आयशा, मन्डेकाजी, लक्ष्मी र सुवासले समान एक–एक लाख नगद पाए। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशा, मन्डेकाजी र सुवासले समान २–२ स्वर्ण जितेका थिए। त्यस्तै, लक्ष्मीले एक स्वर्ण जितेकी थिइन्।
त्यस्तै, विकास, समिर र सन्तोषीले भने समान ६६ हजार ६६६ रुपैयाँ प्राप्त गरे।
त्यस्तै, सरकारले प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका नविन कुमार श्रेष्ठलाई सम्मान गरेको छ। सम्मानसहित कुशल र नविनले जनही ५०–५० हजार प्राप्त गरे। निर्णायकतर्फ भने जुडोका धर्मकुमार श्रेष्ठ सम्मानित भए। उनले एक लाख पाए।
तिकित्सकतर्फ भने डाक्टर ज्ञानेन्द्र विक्रम शाहले सम्मानसहित एक लाख पाए। वर्षको उत्कृष्ट खेल संघबाट भने नेपाल गल्फ संघ सम्मानित भएको छ। गल्फ संघले पनि एक लाख नगद प्राप्त गरेको छ।
त्यस्तै, सरकारले काठमाडौं महानगरपालिका र कतार एयरवेजलाई प्रसंशाा गर्दै सम्मान गरेको छ। कतार एयरवेजले २०७६ सालको सहिद स्मारक ए डिभिजन लिगमा मुख्य प्रायोजक गरेको थियो। नेपाली फुटबलमा ठूलो प्रायोजन गरेको भन्दै सरकारले कतार एयरवेजलाई सम्मान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।