काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले खेलसंघको वर्गीकरण हुने बताएका छन्। नयाँ खेलकुद ऐनमा भएको व्यवस्थाअनुसार खेल संघहरुको अवस्था र प्रकृति हेरेर पुनः वर्गीकरण हुने उनले बताएका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गीकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु वर्गीकरण गरिने बताएका हुन्।
राखेपका उपाध्यक्ष शिव कोइरालाले ब्यक्ति एउटा दायित्व धेरै भएको संघको प्रथा अन्त्य हुने बताए। संघ विवाद सामाधन समितिका संयोजक समेत रहेका उपाध्यक्ष कोइराला भन्छन्- ‘संघ धेरै भएर राज्यले धान्न नसकेको होइन, कतिपय संघले गर्ने क्रियाकलाबबाट खेलकुद बदनाम हुँदै आएको छ अब यस्तो परिपाटी चल्दैन।’
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदका गतिविधि विस्तारै सामान्य अवस्थामा आउँदै गरेको बताए। ‘नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखेर परिषदले पुस महिनाभर खेलकुदले मेची महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २/२ दिने कार्यक्रमको आयोजना गर्दैछौँ। प्रदेशका खेलकर्मी, खेलाडी, प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ’ उनले भने।
सदस्य सचिवले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउँदै कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुँदै जाने बताए।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराएका थिए। जहाँ लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थियो। धेरैजसो संघहरुले आगमि नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समावेश गरिनु पर्ने धारणा राखेका थिए। अन्तरक्रिया कार्यक्रममा राखेप सदस्यहरु, विभागीय प्रमुखहरु, प्रशिक्षक, कर्मचारीलगायतको उपस्थिति समेत थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।