काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष गर्दै आइरहेको स्पोर्टस अवार्डमा पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। जसमा पौडीकी गौरिक सिंह, भलिबलकी अरुणा शाही, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी रहेका छन्।
विशेष गरी नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का साथै वर्षभरको खेल प्रदर्शनका आधारमा पाँच खेलाडी मनोनयनमा परेका हुन्। सागमा गौरिका सिंहले चार स्वर्ण पदक जितेकी थिइन् भने मण्डेकाजी श्रेष्ठले दुई स्वर्ण पदक जितेका थिए। सागमा दोस्रो भएको महिला भलिबलकी कप्तान अरुणा शाही, दोस्रो भएको महिला फुटबलकी सावित्रा भण्डारी र दोस्रो भएको महिला बास्केटबलकी सदिना श्रेष्ठ समूहगत खेलका हुन्।
मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ। भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ। भोटिङलाइन शुक्रबारबाट सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ।
.jpg)
गौरिका सिंह-पौडी
वर्ष २०७६ गौरिकाका लागि स्वर्णमय रहेको थियो। १३ औं दक्षिण एसियाली खेलकुदमा उनले चार स्वर्ण पदकका साथै दुई रजत र दुई कास्य पदक जितेकी थिइन्। सागमा उनले १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन्। आठौं राष्ट्रिय खेलकुदमा पनि गौरिकाले सहभागी १२ वटै स्पर्धामा स्वर्ण पदक जितेकी थिइन्। उनले दक्षिण कोरियामा आयोजना भएको फिना विश्व च्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन्।
.jpg)
अरुणा शाही-भलिबल
१३ औं सागमा महिला भलिबल दोस्रो स्थानमा रहँदा पनि निकै तारिफ भएको थियो। जहाँ टिमकी कप्तान अरुणा नै थिइन्। सागको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको महिला भलिबलमा अरुणाको खेल सम्झनलायक थियो। साथै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा अरुणाले नै कप्तानी भूमिका निभाएकी थिइन्। जहाँ नेपालले स्वर्ण पदक जितेको थियो।
.jpg)
मण्डेकाजी श्रेष्ठ-कराते
मण्डेकाजले १३ औं सागको पहिलो दिन टिम काता र एकल काताबाट २ स्वर्ण पदक जितेर नेपाललाई सागमा सुरुवाती खुसी दिएका थिए। सागमा एकै संस्करणमा कराते खेलाडीबाट दुई स्वर्ण पदक जित्ने इतिहास उनको नाममा रह्यो। उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि एकल कातामा स्वर्ण र टिम कातामा रजत पदक जितेका थिए। साथै नवौँ थाइल्यान्ड च्याम्पियनसिपमा उनले सिनियर कातामा रजत पदक जितेका थिए।
.jpg)
सदिना श्रेष्ठ-बास्केटबल
१३ औँ सागमा रजत पदक जितेको महिला बास्केटबल टिमकी कप्तान हुन् सदिना। जहाँ सदिनाको योगदान महत्वपूर्ण थियो। सदिनाले समृद्धि गुरिल्लाज टिमको नेतृत्व गर्दै एनबीएल महिला बास्केटबल लिगमा पनि रजत पदक जितेकी थिइन्।
.jpeg)
सावित्रा भण्डारी-फुटबल
नेपाली फुटबलमा धेरै चर्चा हुने खेलाडीमा पर्छिन् सावित्रा। गत वर्ष भारतमा सम्पन्न इन्डियन वुमेन्स लिगको दुई सिजनमा उनको खेल उत्कृष्ट रह्यो। उनले गोकुलम केरलालाई च्याम्पियन बनाउने क्रममा सर्वाधिक गोल मात्र गरिनन्, फाइनलमा निर्णायक गोल गरिन्। सन् २०१८ र १९ को सिजनमा पनि सेथु एफसीबाट खेल्दाउनले टिमलाई च्याम्पियन बनाइन्। १३औं सागमा नेपाललाई रजत पदक दिलाएकी उनले नादेझ्दा कपमा टोलीलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी थिइन्। उनले गएको वर्ष नै नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।