काठमाडौं- उपत्यकामा जारी जोरबिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ। बिहीबार उपत्यकाका तीनै जिल्लाका सिडिओसहित यातायात व्यवसायीको छलफलपछि जोरबिजोर हटाउने निर्णय गरेको हो।
यातायात मजदूर तथा यातायात व्यवसायीहरुले काठमाडौं उपत्यकामा कायम रहेको जोरबिजोर प्रणाली नमान्ने भन्दै सिसिएमसीलगायतलाई ज्ञापन पत्र बुझाएको थियो। सरकारले काठमाडौं उपत्यकामा असोज १ देखि लागू गरेको जोरबिजोर प्रणाली पुस ३ गतेदेखि हटाउने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले जानकारी दिए।
उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागु हुँदै आएको छ। यातायात व्यवसायी तथा मजदूर युनियनका प्रतिनिधिहरुले गत मंसिर १८ गते सिसिएमसी र डिसिसिएमसी कार्यालयलाई ध्यानाकर्षण गराउँदा समेत सरकारले जोरबिजोर हटाउने विषयमा निर्णय नगरेको उनीहरुको आरोप थियो।
सरकारले चासो नदिएपछि पुस ३ गतेदेखि यातायात व्यवसायी तथा मजदूरहरुलाई सबै सवारीसाधन चलाउन आग्रह गरिएको संयुक्त विज्ञप्ति नै जारी गरेका थिए। उपत्यकामा जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन हुँदै आएको थियो। कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न भिडभाड कम होस् भनेर सरकारले जोरबिजोर लागू गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।