काठमाडौं–प्राथमिक शेयर निष्काशन गर्न १८ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। ती कम्पनीहरुले १३ अर्ब ८२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न लागेका हुन्। यसमध्ये सबैभन्दा धेरै नेपाल पूर्वाधार विकास बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्दै छ।
प्राथमिक शेयर निष्काशनको अन्तिम अनुमतिको पर्खाइमा रहेको कम्पनीले नेपालकै इतिहासमा सर्वाधिक धेरै प्राथमिक शेयर निष्काशन गर्दैछ। अन्य कम्पनीको प्राथमिक शेयरमा लक्की ड्र हुने गरेकोमा यस कम्पनीको आइपिओ भने लगभग सबैलाई पर्ने निश्चित छ। यसभन्दा अगाडि सर्वाधिक धेरै ९ लाख जनाको आवेदन परेको छ।
प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको १८ कम्पनी मध्ये ११ वटा जलविद्युत कम्पनी रहेका छन्। एउटा माइक्रोफाइनान्स, एउटा बिमा कम्पनी, एउटा बैंकिङ, एउटा मर्चेन्ट बैंक र अन्य समुहका तीन वटा रहेका छन्। एक वर्ष अगाडि जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा बिक्न सक्ने अवस्था थिएन। दोस्रो बजारमा सुधार आउन थालेसँगै जलविद्युत कम्पनीको शेयर मूल्यमा पनि उछाल आइरहेको छ। यसले गर्दा जलविद्युत कम्पनीले निष्काशन गरेको शेयरमा पनि अत्याधिक आवेदन पर्ने गरेको छ।
११ जलविद्युत कम्पनीले मात्रै ४ अर्ब ५५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्दै छन्। यसमध्ये सबैभन्दा धेरै मध्य भोटेकोशीले एक अर्ब ५० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्दै छ। एक मेगावाट क्षमताभन्दा ठुला जलविद्युत कम्पनीहरुले अनिवार्य प्राथमिक शेयर निष्काशन गर्नैपर्ने हुन्छ।
नेपाल राष्ट्र बैंकले प्राथमिक शेयर निष्काशन नगरेका लघुवित्त वित्तीय संस्थाहरुलाई प्राथमिक शेयर निष्काशन गर्न दिइरहेको छैन। राष्ट्र बैंकले तिनीहरुलाई मर्जरमा जान दबाब दिँदै आएको छ। त्यसैले गर्दा पछिल्लो समय माइक्रोफाइनान्सको प्राथमिक शेयर निष्काशन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।