काठमाडौं- वाणिज्य बैंकहरु कर्जा विस्तारमा आक्रामक देखिन थालेका छन्। पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले १७ अर्बले कर्जा विस्तार गरेका हुन्। बैंकहरुले मंसिर २६ गतेसम्ममा ३१ खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। मंसिर महिनाभित्र मात्रै ४९ अर्ब रुपैयाँले कर्जा बढाएका हुन्।
जुन हिसाबले कर्जा विस्तार भइरहेको छ‚ त्यही अनुपातमा निक्षेप संकलन भने कम छ। पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। मंसिर २६ गतेसम्ममा बैंकहरुले ३६ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। मंसिर महिनाभित्र मात्रै ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
पछिल्लो एक सातामा बैंकहरुले ९ अर्बको निक्षेप संकलन गरी १७ अर्बले कर्जा लगानी गरेका छन्। वाणिज्य बैंकहरुले पछिल्लो समय विकास बैंक तथा अन्य वित्तीय संस्थाहरुको कर्जा स्वाप गरिरहेको चर्चा चल्न थालेको छ। बजारमा तरलता पर्याप्त हुँदा बैंकहरुले ब्याजदर घटाउन थालेका छन्। ब्याजदर एकल अंकमा झर्न थालेसँगै सहकारी विकास बैंक लघुवित्त तथा अन्य क्षेत्रबाट कर्जा लिनेहरु पनि बैंकमा पुग्न थालेका हुन्।
वाणिज्य बैंकहरु पनि बैंकमा पैसा थुपारेर राख्नु भन्दा मार्केटिङ गरिरहेका छन्। आयात निर्यात बिस्तारै सहज हुदै जादा बैंकिङ कर्जा बढिरहेको छ। घरजग्गा तथा सेयर कारोबारमा बैंकको लगानी अस्वभाविक रुपमा गैरहेको नेपाल राष्ट्र बैंकको निष्कर्ष छ।
व्यापारीहरुले लकडाउनको समयमा सामान ल्याउन नसकेकोमा लकडाउन खुला भएसँगै आयात बढाउन थालेका छन्। नियमित रुपमा चलेका उद्योग कलकारखाना सहज रुपमा सञ्चालन हुन थालेसँगै अपरेटिङ खर्चका लागि पनि बैंकिङ कर्जा बढ्ने गरेको छ। आफूसँग पैसा हुँदा जति पनि दिने अलि अलि लिक्वीडिटी टाइट हुन थाले पछि कस्ने प्रवृत्तिको कारण पनि समस्या हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।