काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। २०७४ मंसिर २८ गतेदेखि जीवन बिमा व्यवसाय सुरु गरेको प्रभुले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गरेको छ।
चौँथो वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुनसहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ। मंसिर २८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित समारोहमा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले उक्त सामाग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ अधिकृतहरु एवम् उक्त महाशाखाका ट्राफिक प्रहरी पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
यसैगरी उक्त कम्पनीका प्रदेश स्थित कार्यालयहरुबाट पनि रक्तदान लगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु संचालन गरिएको थियो।
यसैबीच सोमबारदेखि कम्पनीको ६० लाखकित्ता बराबरको ६० करोड रुपैयाँको सेयर सार्वजनिक निष्काशन खुला हुदैंछ। सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा हुने सेयरको यो सार्वजनिक निष्कासन छिटोमा पुस २ गते बैकिङ्ग समय पश्चात् बन्द हुनेछ।
प्रतिसेयर १०० रुपैयाँको दरमा ६० लाख कित्ता साधारण सेयरमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सुरक्षित गरिएको छ। त्यस्तै सामूहिक लगानी कोषहरुका लागि तीन लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको र बाँकी ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने छ। सार्वजनिक निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँबाट बढेर २ अर्ब रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।