काठमाडौं- खेल जगतमा प्रतिष्ठित ‘पल्सर स्पोर्टस् अवार्ड’ को १७ औँ संस्करण आउँदो पुस २८ गते हुने भएको छ। यसअघि भव्य रुपमा हुने गरेको अवार्ड कार्यक्रम यसपटक भने ‘सेमि भर्चुअल’ रुपमा गरिने बताइएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड कोरोना माहामारीकै कारण पहिलेका वर्षहरुमा भन्दा ढिला गरी हुन लागेको हो। यसपटक सामान्य उपस्थितिमा ललितपुरस्थित कराते एकेडेमीको हलमा कार्यक्रम गरिने एनएसजेएफले जनाएको छ।
आइतबार गरिएको मिति घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६०० रूपैयाँ उपलब्ध गराउनेछ। त्यसबापत् अवार्डको नाम पल्सर स्पोर्टस अवार्ड हुनेछ।
अवार्डमा वर्ष २०७६ मा गरेको खेल प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिने बताइएको छ।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एउटा पल्सर मोटरसाइकल पाउनेछन्। यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ नगद पाउने एनएसजेएफले जनाएको छ।
एनएसजेएफले पुरुष, महिला प्रशिक्षक र युवा खेलाडी विधामा एनएसजेएफको छनोट समितिले पाँच–पाँच खेलाडीको मनोनयन सार्वजनिक गर्नेछ। जसबाट विजेता छानिनेछ। पिपल्स च्वाइस अवार्डका लागि पनि पाँच चर्चित खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ र समर्थकले एसएमएस तथा फेसबुक लाइकका माध्यमबाट दिएको मतका आधारमा विजेता छानिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।