काठमाडौं–चिलिमे हाइड्रोपावर कम्पनीले घोषणा गरेको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्रै प्राप्त गर्न सक्ने छन्। कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्दै छ।
कम्पनीले पुस १२ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ। यस वर्ष कम्पनीले बोनस शेयर तथा नगद लाभांश दुवैलाई प्राथमिकता दिएको छ। सहायक कम्पनीमा लगानी जुटाउन कम्पनीले लामो समयदेखि बोनस शेयर दिँदै आएको छ।
हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ६२२ रुपैयाँ रहेको छ। एक वर्ष अवधिमा कम्पनीको शेयर मूल्य अधिकतम ७२० रुपैयाँसम्म पुगेको थियो भने न्युनतम ३३० रुपैयाँमा पनि कारोबार भयो। आजसम्म शेयरधनीले नगदका साथै बोनस शेयर पनि प्राप्त गर्न सक्ने छन्।
आज शेयर खरिद गर्नले केही महंगोमा किन्नु पर्नेछ भने भोलि बुक क्लोज भए पछि समायोजन भएपछिको मूल्यमा भने कम लागत पर्नेछ। तर उनीहरुले घोषणा गरेको लाभांश पाउँदैनन्। शेयर बजार बुलिस ट्रेण्डमा रहेकाले शेयरधनीले भोलिका दिनमा पनि राम्रै पुँजीगत लाभ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।