काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद/समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष शिव कोइराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो। राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन् खेलाइने नियम पनि एउटै छ।
समितिले अन्तरिक विवादमा रहेका संघलाई पनि यथाशीघ्र विवाद सामाधान गरी खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धीत संघको ऐनअनुसार कार्यान्वयनमा आउन निर्देशन गर्न भएको छ।
संयोजक कोइरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य संचालन विधि तयार गर्ने निर्णय गरेको छ। संघहरुमा बेलाबखत देखिने नीतिगत ब्यवस्थापकीय तथा अन्य समस्याहरुलाई दीर्घकालीन रुपमा सामाधान गर्न रणनीति तयार गर्ने निर्णय गरेको छ।
युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णय अनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोइराला लगायत ७ सदस्य टिममा सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालय, खेलकुद महाशाखा, राखेप सदस्यत्रय गोविन्द भट्टराई, पुरेन्द्रविक्रम लाखे, नन्दा बस्याल, राखेप कानुन शाखा प्रमुख नारयणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख इन्द्रबहादुर कार्की रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।