काठमाडौं- युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता आफ्नो पक्षमा पारेका छन्। प्रिन्सले तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका हुन्।
राष्ट्रिय पुरुष एकलमा शुक्रबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१४ र २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे। त्यस्तै उपविजेता नवीनले नगद ५५ हजार, ५ सय, ५५ पाए। सेमिफाइनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दै प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए।
तृतीय स्थान प्राप्त गरेका सेनाका रत्नजित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे। विश्व महामारीको रुपमा रहेको कोरोनाका कारण खेलबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरुका लागि यो निकै नै महत्वपूर्ण प्रतियोगिता समेत रहेको थियो।
मंसिर २१ गते देखि सञ्चालित तोप-२१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।