काठमाडौं- एनएमबी बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले ७ वर्ष अवधिको 'एनएमबी ऋणपत्र २०८४/८५' जारी गर्ने भएको हो।
ऋणपत्रमा ८ प्रतिशतका दरले ब्याज दिइनेछ। ब्याजदर सस्तो भएको मौका छोप्दै बैंकले ऋणपत्र निष्काशनको तयारी गरेको हो।
बैंकले सर्वसाधारणका लागि ८० करोड रुपैयाँको ऋणपत्र जारी गर्नेछ। बाँकी रहेको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र प्राइभेट प्लेसमेन्टमार्फत आफैँले बिक्री गर्ने छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।
बैंकले यस अगाडि २०७५ चैतमा तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। उक्त ऋणपत्रको ब्याजदर १० प्रतिशत हुँदा पनि पूर्ण रुपमा बिक्री हुन सकेको थिएन। माग गरिए बराबरको बिक्री नभएपछि बैंकले एक अर्ब ६८ करोड रुपैयाँको ऋणपत्र दोस्रो बजारमा सूचीकृत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।