काठमाडौं- साहस उर्जाले प्रभावित र सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनी प्रभावित र सर्वसाधारणलाई गरेर १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।
कम्पनीले दूधकोसीमा ८६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सोलुखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको निर्माण कार्य अहिलेसम्म समग्रमा ५० प्रतिशतभन्दा धेरै सकिएको छ।
कोभिडका कारण आयोजनाको निर्माण कार्य भने प्रभावित भएको छ। सोलुखुम्बु जिल्लामा निर्माणाधिक उक्त आयोजनाले पहिलो चरणमा प्रभावितका लागि सेयर निष्काशन गर्नेछ। प्रभावितले सेयर खरिद गरेपछि मात्रै सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा हिमप्रसाद पाठक रहेका छन्। त्यस्तै सल्लाहकारमा डा. डिल्लीराज खनाल र रामेश्वर खनाल रहेका छन्।
कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। प्राथमिक सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ८० लाख रुपैयाँको अनुमान गरिएको छ। निर्माण समय लम्बिए लागत बढ्ने अनुमान गरिएको छ। यसअघि कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँको अनुमान गरिएको थियो। लागतको ७३ प्रतिशत ऋण र २७ प्रतिशत सेयर पुँजीबाट जुटाइने कम्पनीले जनाएको छ। कम्पनीले ८ अर्ब ६५ करोड रुपैयाँको ऋणका लागि रेटिङ समेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।