काठमाडौं- गत आर्थिक वर्ष २०७६/७७ मा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतले तलब भत्ता तथा अन्य सुविधाबापत २ करोड २३ लाख रुपैयाँ बुझेका छन्। यो तलब सुविधा २०७६ फागुन ३० सम्म तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र २०७७ वैशाख एक गतेदेखि सन्तोष कोइरालाले प्राप्त गरेका हुन्।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत शर्माले फागुन ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। उनले राजीनामा दिए पनि बैंकले बैंसाख १ गतेदेखि कोइरालालाई जिम्मेवारी दिइएको थियो।
यस रकममा प्रमुख कार्यकारी अधिकृतले बोनस ऐनअनुसार प्राप्त गर्ने रकमलाई समावेश गरिएको छैन। बैंकका नायब महाप्रबन्धक तथा प्रबन्धकहरूले गत वर्ष १० करोड ७८ लाख रुपैयाँ परिश्रमिक भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन्। उनीहरूले पनि बोनस ऐनअनुसार थप बोनस रकम प्राप्त गर्दछन्।
सञ्चालकहरुले पनि समितिको बैठकमा भाग लिएबापत अध्यक्षले प्रति बैठक भत्ता १५ हजार रुपैयाँ र अन्य सदस्यले १२ हजार रुपैयाँ प्राप्त गरेका छन्। यसबाहेक प्रतिमहिना पत्रपत्रिका मोबाइल तथा इन्टरनेट खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ।
यसका साथै ५० लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा पनि गरिएको छ। बैंकको कामको सिलसिलामा भ्रमण गर्नु पर्दा लाग्ने खर्च दैनिक भ्रमण भत्ता आदि बैंकको नियमावली बमोजिम उपलब्ध गराइएको बैंकले जनाएको छ। सञ्चालकमध्ये सबैभन्दा धेरै अध्यक्ष डा. वीरेन्द्र महतोले २५ पटक बैठकमा सहभागी भएर तीन लाख ७५ हजार रुपैयाँ लिएका छन्।
गत आर्थिक वर्षमा बैंकको कुल कर्मचारी खर्च एक अर्ब ५० करोड रुपैयाँ रहेको छ। त्यस्तै कार्यालय सञ्चालन खर्च ८८ करोड ८४ लाख रुपैयाँ सहित कुल व्यवस्थापन खर्च २ अर्ब ३९ करोड रुपैयाँ लागेको छ।
बैंकले पुस २ गते पोखरामा २२औँ वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद लाभांश र ७.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ। असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।