काठमाडौं- सेयरको दोस्रो बजार विस्तारै सुस्ताउन थालेको छ। विगत तीन सातायता आक्रामक रुपमा सुधार भइरहेको सेयर बजारमा यस साता भने सुस्ताएको हो। बजार सुधार हुने क्रममा ९ अर्बभन्दा बढीको कारोबारसहित नयाँ रेकर्ड बनेको थियो।
सुधारिएको सेयर बजारबाट नाफा बुक गर्ने क्रम बढेको हो। विगत दुई तीन महिना अगाडि सेयर खरिद गरेलकाले तत्कालीन अवस्थामा बिक्री गर्दा पनि उच्च प्रतिफल हुने भएकाले बिक्री चाप बढिरहेको छ। बैंकिङ ब्याजदर धेरै नै तल झरेको र बैंकहरुले सजिलै सेयर कर्जा दिने भएकाले दोस्रो बजारमा उछाल आइरहेको थियो।
एक साता अगाडि नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक अवधिको मौद्रिक समीक्षा गर्ने क्रममा बैंकिङ कर्जा घरजग्गा तथा सेयर बजारमा अत्यधिक गइरहेको र यसलाई नियन्त्रण गर्ने जनाएको थियो।
तीव्र गतिमा बढिरहेको सेयर बजारलाई नेपाल राष्ट्र बैंकको उक्त कदमले रोकेको हो। बिहीबार नेप्से सूचक ८ दशमलब २७ अंकले सुधार भए पनि अधिकांश समय रातो थियो। सूचकमा तीव्र उचारचढावका कारण कारोबार रकम ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ। गएका सातामा ९ अर्बभन्दा माथिको कारोबार भइरहेको थियो। लिबर्टी इनर्जी र नारायण डेभलपमेन्ट बैंकको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। जम्मा २०४ वटा कम्पनीको सेयर कारोबार हुँदा ९६ वटाको मूल्य बढेको छ भने ६४ वटाको मूल्यमा गिरावट आएको छ।
केही दिनदेखि लगातार बढ्दो क्रममा सर्किट लाग्दै आएको माथिल्लो तामाकोशीको सेयरमा बिहीबार भने नकारात्मक सर्किट लागेको छ। बिहीबार अपर तामाकोशीको सेयर मूल्य ४७५ रुपैयाँमा कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड ३२ लाख रुपैयाँको कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।