काठमाडौं–ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ।
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्ममार्फत् ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन्।
त्यस्तै, उक्त प्रणालीमार्फत् कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ। यस प्रणालीमा पहुँच पाउन मल्टिलेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिङ्क गरी कारोबार गर्न सकिने सुविधा रहेको छ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लेटफर्महरु प्रदान गर्दै आएको छ। कर्पोरेट पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्नेछ।
यस प्रणालीको प्रयोग र बिस्तार पश्चात भौतिकरुपमा बैंकमा नपुगी अनलाइनमार्फत् विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई यसबाट सहजरुपमा सेवा प्रदान गर्न सकिने बैंकको विश्वास रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।