एजेन्सी- फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनको घाँटीमा सधैँ टाई हुन्छ। उखरमाउलो गर्मीमा पनि उनी टाइ उतार्दैन्। खेल खेल्दासमेत फुकाल्दैनन्। फ्रान्समा उनको नीतिले जसरी देश हल्लाएको छ उनको 'ड्रेसकोड'ले पनि उत्तिकै चर्चा कमाएको छ।
म्याक्रोन हुरीले विनास गरेको सेन्ट मार्टिनमा अवलोकनका लागि पुगेका थिए। टापु वरपर भग्नावशेष थियो। अत्यधिक गर्मी थियो। टापु घुमेका म्याक्रोनले गर्मी महसुस गरेपछि कोट फुकाले टाई लगाइरहे।
राष्ट्रपतीय निर्वाचनको प्रचार-प्रसारदेखि राष्ट्रपति हुँदासम्म उनको घाँटीमा खैरो रङको टाई सधैँ छ। मजदुरको सडक आन्दोलनमा सान्त्वना दिन होस् वा कुनै खेल खेल्न मैदान छिर्दा होस् उनी सधैं टाई भिर्छन्।
एक पटक टेनिस खेल्ने क्रममा समेत उनले टाई लगाएका थिए। टिर्सट लगाएर टेनिस कोर्टमा आएका उनले घाँटीमा टाई लाउन छोडेका थिएनन्। म्याक्रोनको घाँटीमा सधैँ हुने टाईको अर्थ शक्तिसँग गाँसिएको छ।
'शासकको शक्तिको प्रतीक पनि हुनुपर्छ, राष्ट्रपति म्याक्रोनको टाई शक्तिको प्रतीक हो, त्यसैले उनी टाई कहिल्यै छोड्दैनन्,' फ्रान्सका समाजशास्त्री जमिल दखाइल भन्छन्।

म्याक्रोनको परिवार पुस्तौंदेखि राजनीतिमा सक्रिय थियो, म्याक्रोनलाई अपरिपक्व युवा भन्दै सबैले खिसी गर्थे। 'त्यो खिसीको सेखी झार्न पनि शक्तिको प्रतीक पहिरन म्याक्रोनले छाडेका छैनन्। उनले शासन गर्न कठिन महसुस गरेको भए टाई फुकाल्थे,' समाजशास्त्री दखाइल भन्छन्।
म्याक्रोनले लगाउने टाई १७औँ शताब्दीको डिजाइन हो। युरोपियन शक्तिबीच युद्ध चर्किरहेका बेला टाई पनि फैलिरहेको थियो। हरेक फ्रान्सेली शासकको पहिरनमा टाई टुट्दैन। शासकले लगाउने टाईको आकार प्रकारलाई धेरै अर्थ दिएर फ्रान्समा समाचार बन्ने गरेको छ।
यसपटक पनि फ्रान्सका अखबारमा राष्ट्रपतिको टाइबारे ब्यानर समाचार बने। समाचारको विषय थियो, अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेट, जो म्याक्रोनजस्तै टाइ लगाउन छाड्दैनन्, जो रातो र निलो टाईका शौखिन हुन्।

फ्रान्सका शासक मध्येका आलोचित फ्रान्स्वाँ ओल्यान्डको कार्यकालको समीक्षा 'ब्याड टाइ डे' शीर्षकमा विभिन्न सञ्चार माध्यममा टिप्पणी भएको थियो। ओल्यान्डको टाई अलिकति कुप्रो किसिमको थियो। त्यसलाई लिएर विभिन्न किस्सा समेत बने।
ओल्यान्डको टाई पहिरिने शैलीले आलोचना ब्यहोरे पनि उनले आफ्नो शैली भने छाडेनन्। सन् २०१२ मा भएको 'जी एट' शिखर सम्मेलनमा ओल्यान्डको टाई देखेर तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत ठट्टा गरे, 'फ्रान्स्वाँ, हामीले तिमीलाई टाई खोल्न आग्रह गर्छौँ।'
जवाफमा ओल्यान्डले भने, 'मैले मेरा देशका सञ्चार माध्यमका लागि पनि टाई छाड्नु हुँदैन।'
आफ्नो कार्यकालमा टाई लगाउने शैलीको किस्सा नबनोस् र 'ब्याड टाई डे' शीर्षकमा समाचार प्रकाशित नहोस् भन्ने विषयमा कान्छा राष्ट्रपति म्याक्रोन सचेत छन्। त्यसैले उनी सचेत पूर्वक निर्णय लिन्छन्। आलोचनाबाट जोगिन उनी फ्रान्समा शक्तिको प्रतीक मानिने टाई उखरमाउलो गर्मीमा पनि लगाइरहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।