काठमाडौं– स्वीट्जरल्यान्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेबलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन्। पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए।
पावेलले सामाजिक तथा खेलकुदको विकासमा गरेको योगदानका आधारमा जितेको पुरस्कार रकम सहयोग गरेका हुन्। उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क (३२ लाख नेपाली) नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन्। पावेलको यो एभिएम स्कुलका खेलाडीहरुका लागि चौथो पटकको सहयोग हो।
यो रकम एभिएममा टेबलटेनिस हल निर्माणमा खर्च गर्नका लागि प्रदान गर्न लागिएको हो। प्राप्त रकम हलमा सुविधा युक्त चेन्जिङ रुम, शौचालय, जिमहल, ईन्जुरी रिकभरीका लागि फिटनेस ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाइटिङ सिस्टम, फल्स सिलिङ, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबलटेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो। जसका लागि सम्पूर्ण डिजाईनहरु तयार भईसकेको र अर्को हप्तादेखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताए।
यस सहयोगले एभिएमका खेलाडी मात्र नभई भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने प्रशिक्षक बज्राचार्यको विश्वास रहेको छ।
जति धेरै सुविधा खेलाडीहरुले प्राप्त गर्नेछन् त्यति नै सफलता पाउने पावेलको विश्वास छ। भविष्यमा पनि नेपाली राष्ट्रिय प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरि स्तरबृद्धि गर्ने र नेपालमा टेबलटेनिस खेलको विकास गर्ने उनको सोच रहेको छ।
यसअघि पनि पावेलले एभिएमका टेबलटेनिस खेलाडीहरुको लागि सहयोग गर्दै आइरहेका थिए। पहिलो पटक सन् २०१७ मा नेपाल आएका पावेलले स्कुलका विद्यार्थीहरुलाई प्रशिक्षण गरेर १ लाख बराबरको सहयोग गरेका थिए। त्यस्तै पावेलले २०१८ मा ३ हजार डलर बराबरको ४ वटा प्रोफेसनल बोर्ड, बल र रवर प्रदान गरे। २०१९ मा ३ हजार डलर बराबरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रयोग हुने म्याट प्रदान गरेका थिए। पावेलले नेपाल भ्रमणका समयमा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।