काठमाडौं- त्रिपुरासुन्दरीका अभिषेक गुरुङ तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्लास्तरीय पुरुष एकलको उपाधि जित्न सफल भएका छन्।
तोप-२१ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१-१९, २१-१५ ले पराजित गर्दै उपाधि उचालेका हुन्। अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाण पत्र र नगद ३० हजार प्राप्त गर्ने छन्। यस्तै उपविजेता सुरेन्द्रले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
सेमिफाइनलमा अभिषेकले बलेफीका अजय तामाङ्ग माथि रिटायर्ड हर्टको आदारमा जित निकाल्दै फाइनल यात्रा तय गरेका थिए। पहिलो सेट २१-१७ ले पछाडी परेका अजय दोश्रो सेटमा ११-७ को अवस्थामा रहँदा घाइते हुन पुगे पछि खेल छोडेका थिए। यस्तै अर्को सेमिफाइनलमा चौताराका सुरेन्द्र श्रेष्ठले चौताराकै रमेश श्रेष्ठ माथि २१-१६, ११-२१, २१-१४ को जित निकाल्दै फाइनल यात्रा तय गरेका थिए। तेश्रो स्थान प्राप्त गरेका चौताराका रमेश श्रेष्ठ र बलेफीका अजय तामाङ्गले जनही नगद ५ हजार प्राप्त गर्नेछन्।
यस्तै पुरुष युगलतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग र युवराज अधिकारीको जोडी फाइनल प्रवेश गरेका छन्। प्रकाश र रमेशको जोडीले बलेफीका अजय तामाङ्ग र राजकुमार तामाङ्गको जोडीलाई २०-२२, २१-१०, २१-७ ले तथा अभिषेक र युवराजको जोडीले चौतारका सुन्दर श्रेष्ठ र कैलाश घलेको जोडीलाई २०-२२, २१-११, २१-११ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।