काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल धितोपत्र बोर्डमा ८ अर्ब रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न निवेदन दिएको छ। बैंकले अहिलेसम्मकै सबैभन्दा धेरै प्राथमिक सेयर निष्काशन गर्न निवेदन दिएको हो। दुई वर्षअघि पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको यस बैंकको हालको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ।
प्राथमिक सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ। पहिलो वार्षिक साधारणसभाबाटै प्राथमिक सेयर निष्काशनको प्रस्ताव पारित गरेको बैंकले एक आर्थिक वर्षको पूर्ण लेखापरीक्षण प्रतिवेदन तयार पार्नुपर्ने नियमका कारण ढिलाइ भएको हो।
बैंकले ठूला ठूला दीर्घकालीन पुर्वाधारका क्षेत्रमा लगानी गर्न पाउछ। तर अन्य बैंकले जसरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउँदैन। अन्य बैंकहरुले दीर्घकालीन पुर्वाधारका क्षेत्रमा लगानी गर्दा बजारमा तरलता अभाव हुने र यस्तो बैंकमार्फत् लगानी गर्दा उपयुक्त हुने अवधारणका साथ यस बैंकलाई सञ्चालन अनुमति दिइएको थियो।
यस बैंकले ऋणपत्र निष्काशन गर्ने तथा अन्य संस्थागत निक्षेप संकलन गर्न पाउँछ। बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।