काठमाडौं-साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २३.३१५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बोनस शेयरसहित कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। संस्थाको हालको चुक्ता पुजी एक अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्ने छ।
संस्थाले गत आर्थिक वर्षमा ५४ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो। प्रतिशेयर आम्दानी ५४ रुपैयाँ रहेको संस्थाले यस वर्ष २५ प्रतिशत बोनस शेयर दिएर पुँजी बढाउने रणनीति बनाएको हो। गत वर्षको वित्तीय विवरण अनुसार संस्थाको जगेडा कोषमा एक अर्ब ९७ करोड रुपैयाँ थियो।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनु पर्छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि संस्थाले वार्षिक साधारणसभा बोलाउन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।