काठमाडौं- दोस्रो बजारमा नकारात्मक सर्किट ब्रेक लागेको भोलिपल्टै ७२ दशमलव २८ अंकको सुधार भएको छ। नेपाल राष्ट्र बैंकले प्रथम त्रैमासिक मौद्रिक समिक्षामा सेयर कर्जालाई कडाइ गर्ने घोषणा गरेसँगै आइतबार दोस्रो बजारमा नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो।
आइतबार ६ प्रतिशतले ओरालो झरेको सेयर बजार सोमबार भने तीन दशमलब ७४ प्रतिशतले सुधार भएको छ।
सोमबार नेप्से सूचक २००४ दशमलव ३९ अंकमा रोकिएको छ। आइतबार १२३ अंकले सेयर बजार तल झर्दा लगानीकर्ताका संघ संगठनहरु नेपाल राष्ट्र बैंक पुगेका थिए। राष्ट्र बैंकले दोस्रो बजार ओरालो झार्न खोजेको आरोप लगाउनै उनिहरुले राष्ट्र बैंकले सेयर कर्जालाई कडाइ गर्ने नीतिगत व्यवस्थालाई नै संशोधन गर्न दबाब दिएका थिए। राष्ट्र बैंकका केही उच्च पदाधिकारीहरुले सेयर कर्जामा कडाइ नगर्ने अभिव्यक्ति दिन लगाएर सोमबार पुनः दोस्रो बजार बढाइएको छ।
सोमबार कारोबार खुल्ने बित्तिकै केही सुधार भए पनि ३५ अंकभन्दा माथिले घटेको छ। तीव्र उतारचढावका बीचमा सोमबार दोस्रो बजारमा उल्लेख सुधार देखिएको छ। बजारमा सुधारमा सम्पुर्ण सूचकले साथ दिएको छ। आइतबार सर्किट लागेर आइतबार बजार खुल्दा सुधार हुने संकेत देखिएसँगै लगानीकर्ताको बाइङ प्रेसर आएको थियो।
बजार अझै सुधार हुने मनोविज्ञानका कारण दोस्रो बजारलाई सुधार गर्न टेवा पुर्याएको छ। सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५७ प्रतिशतले सुधार देखिएको छ।
सोमबार वाणिज्य बैंकका सेयरमा सबैभन्दा धेरै बाइङ प्रेसर देखियो। जसले गर्दा बजार सुधार गर्न मद्दत गरेको हो। जम्मा २०६ वटा कम्पनीको सेयर कारोबार हुँदा १६५ वटाको मूल्यमा सुधार आएको छ भने ६ वटाको मूल्य घटेको छ। कारोबारका हिसाबले सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ५ करोड रुपैयाँको भएको छ। सोमबार दोस्रो बजारमा ६ अर्ब ६१ करोड रुपैयाँको किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।