काठमाडौं- कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले एक वर्षमा तलबभत्ता र अन्य सुविधा बापत २ करोड ३८ लाख रुपैयाँ बुझेका छन्। उनले गत आर्थिक वर्ष २०७६/७७ मा तलबबापत १ करोड ७ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै भण्डारीले ४५ लाख ६७ हजार रुपैयाँ भत्ता लिएका छन्।
नियम अनुसार उनले १३ लाख ९ हजार रुपैयाँ दसैँभत्ता प्राप्त गरेका छन्। वार्षिक र सञ्चिति बिदाबापत उनले ८ लाख ९५ हजार रुपैयाँ लिएका छन् भने अन्य विविध सुविधाबापत ६३ लाख ४० हजार रुपैयाँ बुझेका छन्।
त्यस्तै बैंकका उच्च व्यवस्थापन टिमका सदस्यले मात्र गत वर्ष तलब भत्ता तथा अन्य सुविधाबापत मात्र १० करोड ४४ लाख रुपैयाँ बैंकबाट बुझेका छन्।
तलब भत्ता बाहेक प्रमुख कार्यकारी अधिकृतदेखि सहायक महाप्रबन्धकसम्मलाई चालक तथा इन्धन सुविधासहितको सवारी कर्जा, सवारी मर्मत भत्ता र अन्य व्यवस्थापकीय पदाधिकारीहरुलाई बैंकको सवारी साधन नीति बमोजिम सवारी कर्जा, इन्धन तथा मर्मत भत्ता दिइन्छ।
सम्पूर्ण स्थायी पदाधिकारीहरुलाई बैंकको मानव संसाधन नीतिअनुसार सवारी साधन खरिद, घरजग्गा खरिद कर्जा तथा व्यक्तिगत कर्जा उपलब्ध गराइएको बैंकले जनाएको छ। बैंकको मानव संसाधन नीति अनुसार पत्रपत्रिका तथा फोन मोबाइल फोन सुविधा समेत उपलब्ध गराइन्छ। बैंकको नीति अनुरुप कर्मचारीहरुको सामूहिक जीवनबिमा समेत गरिएको छ।
बैंकका सञ्चालकहरुले बैठक भत्ता बापत ३२ लाख ८४ हजार रुपैयाँ प्राप्त गरेका छन्। यसबाहेक अन्य विविध सुविधा बापत १७ लाख ८९ हजार पाएका हुन्। नियमअनुसार बैंकका अध्यक्षले एक पटकको बैठक भत्ता १२ हजार रुपैयाँ र अन्य सञ्चालकहरुले १० हजार रुपैयाँ पाउछन्।
गत वर्ष देवः विकास बैंकलाई मर्जर गर्दा सञ्चालक समितिको बैठक धेरै पटक बसेकोले यस्तो खर्च बढेको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि भने १०.८५ प्रतिशतले हुन आउने एक अर्ब ३५ करोड रुपैयाँ बोनस सेयर र ३.१५ प्रतिशतले हुन आउने ३९ करोड ४३ लाख रुपैयाँ नगद लाभांश दिँदैछ। हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरण पछि चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ।
गत वर्ष बैंकको कर्मचारी खर्च जम्मा १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। जसमा तलब बापत ५० करोड ९९ लाख रुपैयाँ रहेको छ भने ३३ करोड १६ लाख रुपैयाँ भत्ता प्रदान गरिएको छ। यसैमा कर्मचारी बोनस १८ करोड ९९ लाख रुपैयाँ रहेको छ। बैंकका कर्मचारीहरुले नियमित तलब भन्दा धेरै बोनस तथा भत्ता लगायत अन्य सुविधा बापत प्राप्त गर्छन्।
बैंकले यही मंसिर २९ गते २०औँ वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले लाभांश पारित गरे पछि सेयरधनीले पनि बोनस सेयर तथा नगद लाभांश प्राप्त गर्ने छन्। सेयरधनीहरुले जुम मार्फत बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।