काठमाडौं– बागमती प्रदेश खेलकुद विकास परिषद्ले आफू मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
यो संघीय परिषद् र प्रदेश खेलकुद विकास परिषद्बीचको पहिलो संयुक्त कार्यक्रम हो। काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रदेशका प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले सम्बोधन गरेका थिए भने ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल लगायतका थिए।
कार्यक्रममा बोल्दै मन्त्री दुलालले संघीय संरचना अनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सकेमा अब नेपाली खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताए।
सदस्यसचिव सिलवालले आफुहरु बागमती प्रदेशको कामबाट अत्यन्तै प्रभावित भएको बताए। उनले भने, ‘बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि पछि हिँड्न बाध्य पारेको छ।’
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले ‘अबका दिनमा काम गर्दा आई पर्न सक्ने सम्भावित कानुनी अस्पष्ठता र अन्योलका बिचमा कसरी काम गर्ने’ भन्ने विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख कुल बहादुर थापाले ‘प्रशासन सञ्चालन र कर्मचारीहरु व्यवस्थापन’ सम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरु र प्रदेश खेलकुद विकास परिषद्का सबै सदस्यहरुको सहभागीता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।