काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। प्राथमिक शेयरमा माग भन्दा बढी आवेदन परे ५ लाख ४० हजारले १० कित्ताका दरले प्राप्त गर्ने छन्।
सर्वसाधारण समूहतर्फको ६० करोड रुपैयाँमध्ये ५ प्रतिशत अर्थात् तीन करोड रुपैयाँ सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। त्यस्तै कर्मचारीहरुका लागि पनि ५ प्रतिशत अर्थात् तीन करोड रुपैयाँ सुरक्षित गरिएको छ। सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी रहेको ५४ करोड रुपैयाँको प्राथमिक शेयर आम सर्वसाधारणका लागि जारी गर्ने छ। सर्वसाधारणहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
सर्वसाधारणलाई छिटोमा पुस २ गतेसम्म बिक्री गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा पुस १३ गतेसम्म बिक्री गर्न सक्ने छ। सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। कम्पनीले सर्वसाधारण समूहको शेयर बिक्री गरेसँगै चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समूहतर्फ ३० प्रतिशत र संस्थापक समुहको ७० प्रतिशत कायम हुनेछ।
बिमा समितिले तीन वर्ष अगाडि नयाँ १० जीवन बिमा कम्पनीहरुलाई जीवन बिमा व्यवसाय सञ्चालका लागि अनुमति प्रदान गरेको थियो। तीमध्ये मध्ये अहिलेसम्म एउटा कम्पनीले मात्रै प्राथमिक शेयर निष्काशन गरेको छ। प्रभुसहित अझै ९ वटा कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न बाँकी छ।
कम्पनीका अध्यक्षमा डा. आत्मराम घिमिरे रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकासप्राप्त नरायण पौडेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।