काठमाडौं-सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकले एक अर्ब १७ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनसहित २९ करोड ३६ लाख रुपैयाँ नगद लाभांशसहित जम्मा एक अर्ब ४६ करोड रुपैयाँ वितरण गर्ने भएको हो। सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभा बोलाउन सक्ने छ। साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्न सक्ने छन्। हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।
साधारणसभाले हाल प्रस्तावित बोनस शेयर पारित गरेको खण्डमा बैंकको चुक्ता पुँजी १० अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।