सिन्धुपाल्चोक–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले आफ्ना बुवाआमाको सम्झनामा ‘जिल्लाव्यापी कोमल माया–खड्गबहादुर बस्नेत स्मृति कप’ प्रतियोगिता आयोजना गर्ने भएका छ्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पलातीमा शनिवार पत्रकार सम्मेलन गरेर बस्नेतले बुवाआमाको स्मृतिमा आफू र आफ्ना परिवारको सहयोगमा जिल्लाव्यापी फूटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए। उनले सिन्धुपाल्चोकका सबै नगरपालिका र गाउँपालिकाबाट १–१ वटा फूटबल टीमले भाग लिने बताएका छन्।
प्रतियोगितामा सहभागी हुने टीमका खेलाडीहरू सोही नगरपालिका र गाउँपालिकाको भएको परिचयपत्र वा नागरिकता पेश गर्नुपर्ने बस्नेतले बताए। ‘खेलाडीहरू किनेर ल्याएर टीम वा क्लबमार्फत् खेलाउने परम्परा छ,’ उनले भने, ‘हाम्रो सिन्धुपाल्चोकले नयाँ परम्पराको थालनी गर्न लागेको छ । खेलाडीहरू सम्बन्धित गाउँपालिका वा नगरपालिकाको हुनुपर्नेछ ।’
सिन्धुपाल्चोकबाट आगामी दिनमा राष्ट्रियस्तरका फूटबल खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता गर्न लागेको बस्नेतले बताए। पूर्वमन्त्रीसमेत रहेका बस्नेतको पहलमा पलातीमा निर्माण भएको फूटबल मैदानमा मंसिरको २२ देखि २८ गतेसम्म प्रतियोगिता हुनेछ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोग रहनेछ। फूटबल प्रतियोगितामा करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताका लागि कांग्रेस नेता नेता बस्नेतका अमेरिकामा बस्दै आएका कान्छा भाइ प्रकाश बस्नेत र बुहारी सृष्टि बस्नेतले सहयोग गर्नेछन् ।
भाइ–बुहारीले अमेरिकाबाट प्रतियोगिताका लागि ५ लाख रुपैयाँ तत्काललै पठाउने जानकारी दिँदै नेता बस्नेतले प्रकाश र सृष्टिलाई धन्यवाद समेत दिएका छन् ।
प्रतियोगितामा बाँकी रकम पनि आफू र आफ्ना परिवारबाटै संकलन गरेर निजी खर्चमा गरिने बस्नेतले बताए। अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले सिन्धुपाल्चोकको गाउँपालिका र नगरपालिकास्तरीय फुटबल प्रतियोगितालाई एन्फाले सक्दो सहयोग गर्ने बताए । उनले एन्फाले प्रशिक्षण सेन्टर राखिदिने आश्वासन समेत दिएका छन् । एन्फाका अध्यक्ष शेर्पा सिन्धुपाल्चोक निवासी नै हुन् ।
पत्रकार सम्मेलनपछि कांग्रेस नेता बस्नेत, एन्फाका अध्यक्ष शेर्पा, सञ्चारकर्मी सहितको टोलीले फुटबल प्रतियोगिता हुने पलातीको फुटबल मैदानको स्थलगत निरीक्षण गरेको थियो । फूटबल मैदानसँगै स्वास्थ्य चौकी र पौडी पोखरीको पनि निरीक्षण गरिएको थियो ।
विजेता टीमलाई नगदसहित ट्रफी दिइने छ । दोस्रो र तेस्रोले पनि नगद सहितको पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।