काठमाडौं- भारतीय आइसिआइसिआई बैंक लिमिटेडले नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन गरेको छ। बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आइसिआइसिआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट प्रतिनिधि कार्यालयको उद्घाटन गरे।
प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरुसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्नेछ। नेपालमा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालय विभिन्न १५ देशमा पुगेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अन्तर्राष्ट्रिय बैंकिङ्ग ग्रुपका प्रमुख श्रीराम एच आयरले नेपाल र भारतबीच महत्वपूर्ण व्यापार तथा लगानीको सम्बन्ध रहेको र नेपाली बैंकहरुसँगको बलियो सहकार्यसहितको प्रतिनिधि कार्यालय स्थापनाले दुई देशबीच आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए।
कार्यक्रममा बैंकका इन्टरनेसनल फाइनान्सियल इन्टिट्युसन प्रमुख रन्जु सिग्टियाले प्रतिनिधि कार्यालयको स्थापना बैंकको यस क्षेत्रप्रति गरिएको पूर्व प्रतिबद्धताको पुनः पुष्टि भएको र बैंकले नेपाल भारतबीचको दीर्घकालीन आर्थिक गतिविधिहरुमाथि विश्वास रहेको बताइन्। दुई देशबीच व्यापार गर्ने ग्राहकहरुबीच गहिरो सम्बन्ध बनाउन नेपालका बैंकिङ्ग साझेदारहरुसँग बैंकले काम गर्ने उनको भनाइ छ। बैंकले रञ्जन कुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको छ।
यसअघि नै भारतको पञ्जाब नेसनल बैंकसँगको सहकार्यमा एभरेस्ट बैंक र स्टेट बैंक अफ इन्डियासँगको सहकार्यमा नेपाल एसबिआई संचालनमा छन्। नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन गर्ने आइसिआइसिआई बैंक भारतको निजी क्षेत्रबाट संचालित बैंकमध्ये पहिलो बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।