काठमाडौं- विगत १२ दिनदेखि लगातार सुधार भइरहेको सेयर बजारमा बिहीबार १५ अंकको करेक्सन भएको छ। गत मंसिर ८ गते थोरैमात्रै घटे पनि त्यसयता उच्च दरमा बढिरहेको थियो। कर्नरिङ गरेर एकोहोरो बढाइएको सेयर बजारमा बिहीबारदेखि करेक्सन सुरु भएको विश्लेषण गरिएको छ।
बजार सुधार हुने हल्ला फैलाएर थोरै सेयर पुँजी भएका कम्पनीको मूल्य बढिरहेका छन्। बिहीबार नेप्से सूचक १५ अंकले तल झरेर २०५५ दशमलव ४५ अंकमा रोकिएको छ। सूचक घटे पनि कारोबार रकम भने ८ अर्ब २ करोड रुपैयाँको भएको छ। बजार अझै सुधार हुने अनुमानमा नयाँ लगानीकर्ताले सेयर उठाएका छन् भने अधिकांश लगानीकर्ताले नाफा बुक गरेका छन्।
अपर तामाकोशी र नेपाल सेवा लघुवित्तको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। बजारमा करेक्सन सुरु भएसँगै २० वटा कम्पनीको कारोबार हुँदा जम्मा ३६ वटा कम्पनीको मूल्यमात्रै बढेका छन् भने १३३ वटाको मूल्य बढेका छन्।
सबैभन्दा धेरै साल्ट ट्रेडिङ, विशाल बजार, बोटलर्स नेपालको मूल्य घटेको छ। यी कम्पनीको मूल्यमा विगत केही समयदेखि लगातार सुधार हुँदै आइरहेको थियो। लगानीकर्ताहरुले कर्नरिङ गरेर मूल्य बढाएका थिए। ठूला लगानीकर्ताहरुले कर्नरिङ गरेर बढाएका कम्पनीको नाफा बुक गर्न थालेका छन्। अबको केही समय घट्दो क्रममा सर्किट ब्रेक लाग्दा पनि ठूला लगानीकर्ताहरुले राम्रो नाफा बुक गर्न सक्छन्। बजार हल्लाका पछाडि लागेर सेयर किन्नेहरु भने विस्तारै नोक्सानमा पर्छन्।
बिहीबार नेपाल पुनर्बीमा कम्पनीको एकै दिन एक अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ। कम्पनी सेयर मूल्य १७३५ रुपैयाँ पुगेको छ। केही समयअघि प्राथमिक सेयर निष्काशन गरेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा लगातार सुधार भइरहेको छ। त्यस्तै नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
हाइड्रोपावर र माइक्रोफाइनान्सको सूचक बाहेक सम्पूर्ण सूचक तथा उपसूचकमा गिरावट आएको हो। जलविद्युत समूहको सबैभन्दा ठूलो कम्पनी अपर तामाकोशीलगायत केही कम्पनीमा आएको सुधारका कारण यो सूचकमा सुधार देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।