काठमाडौं-प्रभु बैंकले भारतीय सीमाका भन्सार कार्यालयहरुमा रहेका एक्सटेन्सन काउन्टरहरुकाे सञ्चालन समय बढाउने भएकाे छ। भन्सार विभाग र प्रभु बैंकको समन्वयमा नेपाल-भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयमा रहेका एक्सटेन्सन काउन्टरहरुकाे सञ्चालन समय बढाउन लागिएकाे हाे।
भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका बैंकका एक्सटेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने जनाइएकाे छ।
सोसम्बन्धी नवीकरण सम्झौतामा भन्सार विभागका महानिर्देशक सुमन दाहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधबार हस्ताक्षर गरेका हुन्।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने जनाइएकाे छ। यसका साथै सरकारको राजस्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुनेसमेत बैंकले विश्वास लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।