काठमाडौं–एनआईसी एशिया बैंकका ग्राहकहरुले मोबाइल बैंकिङबाटै मुद्दती खाता खोल्न पाउने भएका छन्। बैंकले ग्राहकहरुले मोबाइल बैंकिङमार्फत् आफैंले मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको हो।
ग्राहकहरूले ‘एनआईसी एशिया मोबैंक’ एपमा रहेको फिक्स डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन्। ग्राहकले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन्। मोबाइल बैंकिङमार्फत् मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ।
यो सुविधाअन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरको मुद्दती निक्षेपको फाइदा लिन सक्ने बैंकले जनाएको छ। बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत् मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा यो एपमार्फत् ग्राहकहरूले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्नेछन्। ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै डिजिटल कारोबार गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थामा डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन यो योजनाले सहयोग पु¥याउने बैंकले लक्ष्य लिएको छ।
बैंकले हाल ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।